काठमाडौं, १८ असार । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडाबाट कर्णाली नदीमा दुर्घटना भएको मिनीबस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।
शस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जना गोताखोरसहितको थप टोली परिचालन भएको हो । उद्धारका सामग्रीसहित प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका जनशक्ति संयुक्त रूपमा खोजीमा जुटेका छन् ।
सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको मिनीबस आज बिहान साढे ११ बजेतिर कर्णाली राजमार्गको कर्णाली नदीमा खसेको हो ।दुर्घटना स्थलबाट भीरमा अड्किएको अवस्थामा एक जना पुरुषको शव निकालिएको छ ।
नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।सुर्खेत बसपार्कबाट बिहान बस छुट्दा ५ जना चढेको र पछि बाटोमा पनि यात्रु थपिएका जानकारी प्राप्त भएको तर यकिन सङ्ख्या खुलिनसकेको विकले बताउनुभयो ।







प्रतिक्रिया