त्रिभुवन विमानस्थलका ४ हजार ७२ पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास अझै सक्रिय

काठमाडौं, १८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरेका ४ हजारभन्दा धेरै प्रवेश पास सरुवा, अवकाश र राजीनामापछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा भएको अध्ययनले अहिले कार्यरत नरहेका कर्मचारीका ४ हजार ७२ वटा पास सक्रिय देखिएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोलका अनुसार यीमध्ये ५०७ वटा पास सङ्कलन गरी नष्ट गर्ने र प्रणालीबाट निष्क्रिय गर्ने प्रक्रिया शुरू भइसकेको छ । सरुवा भएका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्रसमेत जारी गरेको डङ्गोलले बताउनुभयो ।

प्राधिकरणका अनुसार अहिलेसम्म जम्मा १३ हजार ८१५ वटा प्रवेश पास जारी भएकोमा ९ हजारभन्दा धेरै अहिले पनि सक्रिय अवस्थामा छन् । कार्यविधिअनुसार जिम्मेवारीमा नरहेको ३ दिनभित्र पास फिर्ता गर्नुपर्ने व्यवस्था छ । समयमै निष्क्रिय नगरे दुरुपयोगको जोखिम रहने भन्दै प्रधानमन्त्री कार्यालयले यस विषयमा तत्काल सुधारका काम अघि बढाएको छ ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार  २० : ५३  बजे