बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ

काठमाडौं, १७ असार । काठमाडौँ । बारा प्रहरीले चार जना बालबालिकालाई सार्वजनिक स्थानमा डोरीले बाँधेर कुटपिट गरेको आरोपमा चार जनालाई महिलालाई बुधबार पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मङ्गलबार बिहान करिब ९ बजे जितपुर सिमरा उपमहानगरपालिका–१६, टांगिया बस्तीस्थित सार्वजनिक चौतारामा मोबाइल चोरीको आरोप लगाउँदै चार जना बालबालिकालाई बरको रुखमा डोरीले बाँधेर कुटपिट गरिएको घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो।घटनामा संलग्न रहेको आरोपमा स्थानीय ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईवालाई असार १७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरीले उनीहरूविरुद्ध बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको छ। बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार  २१ : ०३  बजे