काठमाडौं, १५ असार । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीसाधनमा जडान गरिएको कालो सिसा हटाएको छ।
सोमबार ट्राफिक प्रहरीले सञ्चालन गरेको कालो सिसा हटाउने अभियानअन्तर्गत गृहमन्त्री गुरुङ स्वयं ट्राफिक प्रहरी कार्यालय पुगेर आफ्नो सवारीबाट पनि कालो सिसा हटाउन आग्रह गर्नुभएको थियो। त्यसपछि ट्राफिक प्रहरीले गृहमन्त्री र गृहसचिव दुवैको सवारीबाट कालो सिसा हटाएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेले कालो सिसा हटाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको जानकारी दिनुभयो।
प्रहरीका अनुसार कालो सिसा प्रयोग भएका निजी तथा सार्वजनिक सवारीसाधनमार्फत लागुऔषध ओसारपसार, अवैध हतियारको कारोबार, आपराधिक गतिविधि तथा फरार अभियुक्तको आवतजावत हुने गरेको पाइएपछि अभियानलाई कडाइ गरिएको हो।
प्रहरीले सुन तस्करीलगायत विभिन्न आपराधिक घटनामा समेत कालो सिसा प्रयोग भएका सवारीसाधनको संलग्नता देखिएको जनाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार अधिकार प्राप्त निकायको स्वीकृतिबिना सवारीसाधनको रङ, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन गर्न पाइँदैन। प्रहरीले सोही कानुनी व्यवस्थाअनुसार कालो सिसा हटाउने अभियानलाई निरन्तरता दिएको जनाएको छ।







प्रतिक्रिया