चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले रास्वपाले प्राप्त गरेको ऐतिहासिक जनमतको सम्मान गर्दै जिम्मेवार र लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको छ।
महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विगतमा स्पष्ट जनादेश पाएका राजनीतिक दलहरू नेताहरूको अहंकार र शक्ति संघर्षका कारण असफल भएको स्मरण गराउँदै रास्वपालाई त्यस्ता कमजोरी नदोहोर्याउन आग्रह गर्नुभयो।
उहाँले नेपालको राजनीतिक इतिहासमा पटक–पटक जनताले बलियो जनादेश दिए पनि नेतृत्वको अहंकार, अप्रजातान्त्रिक व्यवहार र आन्तरिक द्वन्द्वका कारण ती अवसरहरू गुमेको उल्लेख गर्नुभयो। रास्वपाले प्राप्त गरेको जनविश्वास पनि त्यस्तै दुर्घटनामा नपरोस् भन्ने शुभेच्छा व्यक्त गर्दै उहाँले शक्ति र जनादेशको सही प्रयोग गर्नुपर्ने बताउनुभयो।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जर्मनी र दक्षिण अफ्रिकाको उदाहरण प्रस्तुत गर्दै जनादेशको सदुपयोग र दुरुपयोगबीचको अन्तरबारे चर्चा गर्नुभयो। उहाँले लोकतान्त्रिक मूल्य, संविधानवाद, विधिको शासन, सामाजिक न्याय र समावेशितालाई केन्द्रमा राखेर अघि बढ्न रास्वपालाई सुझाव दिनुभयो।
उहाँले जनमत प्राप्त गर्नु महत्वपूर्ण भए पनि त्यसको सही व्यवस्थापन झन् ठूलो चुनौती भएको उल्लेख गर्दै जनताको विश्वास जोगाउन सतर्क रहन आग्रह गर्नुभयो।
त्यसैगरी नेकपाका नेता वर्षमान पुनले रास्वपाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति अझ स्पष्ट र बलियो प्रतिबद्धता अपेक्षा गरिएको बताउनुभयो। उहाँले लोकतन्त्रमा बहुमतले विनम्रता र अल्पमतले धैर्यता अपनाउनुपर्ने उल्लेख गर्दै जनादेशको सम्मान गर्दै लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन आग्रह गर्नुभयो।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अबको पुस्ताको मुख्य एजेन्डा सुशासन, विकास र समृद्धि हुनुपर्ने बताउँदै रास्वपाले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले चुनावी नारालाई व्यवहारमा रूपान्तरण गर्दै ‘समृद्धि र विकास’को लक्ष्य हासिल गर्नुपर्ने बताउनुभयो।
त्यस्तै उपेन्द्र यादवले मुलुकले सुशासन, सामाजिक न्याय र समृद्धिको खोजी गरिरहेको उल्लेख गर्दै प्राप्त जनमतलाई जनहितमा उपयोग गर्न आग्रह गर्नुभयो।
राजेन्द्र लिङ्देनले रास्वपाले विभिन्न विचार र अपेक्षा बोकेका नागरिकहरूको विश्वास प्राप्त गरेको उल्लेख गर्दै उक्त अवसरलाई सही रूपमा उपयोग गर्न नसके त्यसको असर पार्टीमात्रै नभई समग्र मुलुकले भोग्नुपर्ने चेतावनी दिनुभयो।
महाधिवेशनमा वक्ताहरूले रास्वपाले प्राप्त गरेको अभूतपूर्व जनसमर्थनलाई जिम्मेवारीका साथ प्रयोग गर्दै सुशासन, विकास, रोजगारी र राजनीतिक स्थायित्वका पक्षमा परिणाममुखी काम गर्नुपर्ने साझा सन्देश दिनुभएको थियो।







प्रतिक्रिया