काठमाडौं, ४ असार । ई–पासपोर्ट छपाइ सम्बन्धी भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ आरजु राणा देउवा लाई बयानका लागि म्याद तामेल गरेको छ।
आयोगले उहाँको घर ठेगानामा सूचना टाँस गरी ३५ दिनभित्र उपस्थित हुन निर्देशन दिँदै म्याद तामेल गरेको हो।
अख्तियारका अनुसार सिंगापुरमा उपचाररत रहेको भन्दै उहाँ लामो समयदेखि नेपाल बाहिर रहेकाले घरमै सूचना टाँस गरेर कानुनी प्रक्रिया अघि बढाइएको हो।
आयोगले ई–पासपोर्ट छपाइ तथा खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा ठेक्का प्रक्रियामा राजनीतिक पहुँचको आधारमा जर्मनीका कम्पनीलाई लाभ पुगेको आरोपसमेत लाग्दै आएको छ।
यद्यपि आयोग स्रोतका अनुसार तत्कालीन परराष्ट्रमन्त्रीको हैसियतमा प्रत्यक्ष निर्णय नभए पनि निर्देशन वा प्रभावका आधारमा संलग्नता हुन सक्ने आशंकामा बयान आवश्यक भएको हो।
यसै प्रकरणमा अख्तियारले बिहीबार मात्रै सम्बन्धित जर्मन कम्पनीका प्रतिनिधिलाई पनि बयानका लागि बोलाएको छ।
आयोगले जारी गरेको सूचनामा तोकिएको समयभित्र उपस्थित नभए कानुनअनुसार प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।








प्रतिक्रिया