झलनाथ खनालको ३६ बुँदे असन्तुष्टि, प्रचण्ड–माधवको राजीनामा माग

काठमाडौं, असार । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल को राजीनामा माग गर्नुभएको छ।

खनालले ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै प्रचण्ड–माधव नेतृत्वले पार्टीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाउनुभएको हो।

पत्रमा उहाँले पार्टी महाधिवेशनसम्म संगठनलाई व्यवस्थित रूपमा लैजानसमेत कठिन भएको भन्दै वर्तमान नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गर्नुभएको छ। साथै संयोजक र सहसंयोजकको संरचनामाथि पनि प्रश्न उठाउँदै नयाँ, योग्य र विचारवान नेतृत्वलाई जिम्मेवारी दिनुपर्ने प्रस्ताव राखिएको छ।

खनालले विगतमा नेकपा (ओली–प्रचण्ड) नेतृत्वको “दुई पाइलट” मोडेलका कारण पार्टी दुर्घटनामा परेको स्मरण गराउँदै अहिले पुनः त्यही अभ्यास दोहोरिएको दाबी गर्नुभएको छ।

उहाँका अनुसार वर्तमान संरचना पार्टीलाई “बल्छीमा परेको माछा” जस्तो अवस्थामा पुर्‍याएको भन्दै नेतृत्व परिवर्तन अनिवार्य भएको टिप्पणी गरिएको छ।

पत्रमा संयोजक र सहसंयोजकको औचित्यमाथि समेत प्रश्न उठाउँदै पार्टी सञ्चालन एकल नेतृत्वमा प्रभावकारी हुने भन्दै महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरिएको छ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  २० : ५२  बजे