स्कुले साथीले नै गरे अपहरण, २२ लाख रुपैयाँ फिरौती माग्दै काठमाडौं ल्याइयो

काठमाडौं, असार । चितवनबाट अपहरणमा परेका १६ वर्षीय एक बालकलाई प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको छ। अपहरणमा संलग्न मुख्य आरोपी बालकका पूर्वस्कुले साथी रहेको खुलेपछि घटना थप चर्चामा आएको छ।

प्रहरीका अनुसार भारतको बिहारस्थित बेतिया घर भएका १८ वर्षीय सुजित कुमारले आफ्नै पूर्वसहपाठीलाई भेट्ने बहानामा बोलाएर अपहरण गरेका थिए। पीडित र सुजित कक्षा ७ र ८ मा नारायणगढमा सँगै अध्ययन गरेका थिए।

अनुसन्धानअनुसार सुजितले इन्स्टाग्राममार्फत सम्पर्क गरी ‘नेपाल आएको छु, भेट्न आऊ’ भन्दै बालकलाई बोलाएका थिए। साथीको विश्वासमा होटल पुगेका बालकलाई केही समयपछि सुजितसहितको समूहले भारतीय नम्बर प्लेटको गाडीमा राखेर काठमाडौं ल्याएको प्रहरीले जनाएको छ।

अपहरणकारीहरूले बालकलाई गोंगबुस्थित नयाँ बसपार्क नजिकको एक होटलमा बन्धक बनाएर परिवारसँग २२ लाख रुपैयाँ फिरौती मागेका थिए। बालकका बुबा नारायणगढका एक सुन व्यवसायी हुन्।

प्रहरीका अनुसार आरोपीहरूले भारतमै अपहरणको योजना बनाएर नेपाल प्रवेश गरेका थिए। फिरौती माग्नका लागि उनीहरूले नेपाली सिमकार्ड प्रयोग गरी ह्वाट्सएपमार्फत परिवारलाई सम्पर्क गरेका थिए।

बन्धक अवस्थामा रहेका बालकलाई कुटपिट गर्नुका साथै रकम नल्याए ज्यान मार्ने धम्की दिइएको प्रहरीले जनाएको छ। पीडितले प्रहरीलाई दिएको बयानअनुसार अपहरणकारीहरूले पटक–पटक घाँटीमा चक्कु राखेर मानसिक र शारीरिक यातना दिएका थिए।

उद्धारमा भने बालककै साहस निर्णायक बन्यो। शौचालय जाने बहानामा निस्किएका उनले एउटा कागजमा आफू अपहरणमा परेको, बुबाको नाम र सम्पर्क नम्बर लेखेर बाहिर फालिदिएका थिए। उक्त चिर्कटो फेला पारेका व्यक्तिले परिवार र प्रहरीलाई जानकारी गराएपछि अनुसन्धान टोलीलाई अपहरणकारीसम्म पुग्न सहज भएको थियो।

सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ गोंगबुस्थित होटलबाट बालकको सकुशल उद्धार गरेको हो। घटनामा संलग्न पाँच भारतीय नागरिक पक्राउ परेका छन् भने एक जना सहयोगी र गाडी चालक फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  २० : ३६  बजे