काठमाडौं, ३ असार ।श्रम संस्कृति पार्टीका सांसद आरेन राई ले एउटै आन्दोलनमा सहभागी हुनेहरू कोही सांसद–मन्त्री बन्ने र कोही कारागारमा बस्नुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले देशको माटो बचाउने विषयमा सत्ता र प्रतिपक्ष भन्ने भेद हुनु नहुने बताउँदै सरकारको नीति र व्यवहारमाथि प्रश्न उठाउनुभयो।
सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाह ले नेपालले भारतसँग सीमा मिचिएको विषयमा दिएको अभिव्यक्तिबारे संसदमा आएर स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो।
उहाँले २००७ सालको क्रान्तिदेखि २०४६ सालको जनआन्दोलन, २०५२ सालको जनयुद्ध, २०६२–६३ को जनआन्दोलन र हालैको जेनजी आन्दोलनसम्मका राजनीतिक घटनाक्रमलाई राज्यले कसरी मूल्याङ्कन गर्छ भन्ने प्रश्न पनि उठाउनुभयो।
सांसद राईका अनुसार जेनजी आन्दोलनका सन्दर्भमा मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयनबारे प्रश्न गर्दा प्रधानमन्त्रीबाट विगतका आन्दोलनहरू पनि हेरिने जवाफ आएको थियो।
उहाँले गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा ९७३ जनालाई पक्राउ गरिएको उल्लेख गर्दै तीमध्ये केही धरौटीमा र केही सामान्य तारखेमा छुटे पनि कानुन कार्यान्वयनमा विभेद भएको आरोप लगाउनुभयो।
“एउटै आन्दोलनमा सहभागी केही व्यक्ति सांसद र मन्त्री बन्ने, तर सोही आन्दोलनमा सहभागी सामान्य नागरिक कारागार बस्नुपर्ने अवस्था किन ?” भन्दै उहाँले सरकारको व्यवहारप्रति गम्भीर प्रश्न उठाउनुभयो।








प्रतिक्रिया