प्रधानमन्त्रीप्रति निश्कल राईको कटाक्ष : चिया पिउन भ्याउनुहुन्छ, किसान बचाउन होइन

काठमाडौं, असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राई ले चिया किसान तथा उद्योगीहरूको समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उहाँले भारतले चिया निर्यातमा नयाँ मापदण्ड लागू गरेपछि इलामका चिया उद्योगी र किसानहरू समस्यामा परेको भए पनि सरकारले आवश्यक पहल नगरेको बताउनुभयो।

“यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै पुगेको छैन। प्रधानमन्त्रीज्यू अन्य मन्त्रीज्यूहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ भन्ने सामाजिक सञ्जालबाट थाहा पाएको छु,” उहाँले भन्नुभयो, “उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुहुन्छ, तर वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको तयारी चिया निर्यात हुने र अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको चिया क्षेत्रको समस्या समाधान गर्न फुर्सद भएको देखिएन।”

सचेतक राईले भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण चियाको परीक्षण प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने र त्यस अवधिमा चिया नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो।

उहाँका अनुसार उक्त समस्याका कारण सूर्योदय नगरपालिका भित्र मात्रै ५३ भन्दा बढी तथा जिल्लाभर ८३ भन्दा बढी चिया उद्योग बन्द भएका छन्। उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको, चिया टिप्ने श्रमिक र उद्योगमा कार्यरत कामदारको रोजगारी प्रभावित भएको तथा उद्यमीहरू बैंक ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको उहाँको भनाइ छ।

सचेतक राईले आफूले चिया क्षेत्रको समस्या पटक–पटक संसदमा उठाएको र प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराएको उल्लेख गर्दै सरकारले तत्काल कूटनीतिक पहलमार्फत चिया निर्यात खुलाउनुपर्ने माग गर्नुभयो।

उहाँले चिया निर्यातमा देखिने समस्या दीर्घकालीन रूपमा समाधान गर्न, चिया परीक्षण प्रयोगशाला निर्माण प्रक्रिया अघि बढाउन तथा तेस्रो मुलुकमा बजार सुनिश्चित गरी निर्यात विस्तार गर्न सरकारसँग आग्रह गर्नुभयो।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  १३ : ०१  बजे