काठमाडौं, २ असार । बालबालिकामाथि मानसिक तथा शारीरिक दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।
घटनाका मुख्य आरोपितका रूपमा किटान गरिएका १९ वर्षीय ईश्वर श्रेष्ठ भने हालसम्म फरार रहेका छन् । बूढानीलकण्ठ नगरपालिका–५ स्थित इस्कोन आश्रममा आश्रित बालबालिकामाथि मानसिक हिंसा तथा दुर्व्यवहार भएको भन्दै अभिभावकले दिएको जाहेरीका आधारमा गत साता सुरजकृष्ण श्रेष्ठ पक्राउ परेका थिए ।
बालबालिकासम्बन्धी कसुरमा कारबाहीको माग गर्दै अभिभावकले प्रहरीमा उजुरी दिएका हुन् । प्रहरीका अनुसार जाहेरीमा नाम उल्लेख गरिएकामध्ये हालसम्म सुरजकृष्ण श्रेष्ठ मात्र पक्राउ परेका छन् । फरार रहेका ईश्वर श्रेष्ठको खोजी कार्य जारी रहेको छ ।
सुरजकृष्णविरुद्ध भने प्रहरी वृत्त महाराजगञ्जमा अभद्र व्यवहारसम्बन्धी मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रारम्भिक पाँच दिनको अनुसन्धान अवधि सकिएपछि सोमबार अदालतबाट थप तीन दिन म्याद थप गरिएको हो ।
पीडित बालिकाका अभिभावकका अनुसार उनी २०७८ सालदेखि उक्त आश्रममा बस्दै आएकी थिइन् । आठ वर्षको उमेरदेखि आध्यात्मिक शिक्षा र कृष्णभक्ति अभ्यासका लागि आश्रममा रहेकी बालिकामाथि १० वर्षको उमेरदेखि दुर्व्यवहार भएको आरोप जाहेरीमा उल्लेख गरिएको छ ।
बालिकाका भाइमाथि पनि दुर्व्यवहार भएको दाबी गरिएको छ । पीडित बालबालिकाका बाबु आश्रममा सवारी चालक र आमा क्यान्टिनमा सरसफाइ कर्मचारीका रूपमा कार्यरत छन् ।
अनुसन्धानमा सहयोग गर्ने इस्कोनको प्रतिबद्धता
यसैबीच, नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ ।
आइतबार जारी विज्ञप्तिमा निष्पक्ष र तथ्यमा आधारित अनुसन्धानको माग गर्दै संस्थाले व्यक्तिगत आरोप–प्रत्यारोपलाई धार्मिक तथा आध्यात्मिक संस्थासँग जोडेर अनावश्यक प्रचार नगर्न आग्रह गरेको छ ।
इस्कोन नेपालले बालबालिकाको हक, हित तथा सुरक्षाप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने जनाएको छ ।







प्रतिक्रिया