मेनपावर व्यवसायीलाई सातो पुत्लो : ३ दिनभित्र विदेश पठाइएका कामदारको नालीबेली बुझाउन कडा निर्देशन !

एयरपोर्ट सेटिङको भन्डाफोर, अब कामदार विदेश पठाएर गायब पार्नेको खैरियत छैन

काठमाडौं, २ असार । सरकारले मेनपावरहरूसँग कामदार विदेश पठाएका कामदारहरूको नाम मागेको छ । वैदेशिक रोजगार विभागले पत्राचार गर्दै २०८२ चैत १ देखि हालसम्मको विवरण अनिवार्य रूपमा बुझाउन भनेको हो ।

वैदेशिक रोजगार ऐनमा रहेको विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले सो अवधिमा पठाइएकाहरूको विवरण मागेको हो । विभागले मेनपावर कम्पनीहरूलाई विदेश पठाइएका श्रमिकहरूको विस्तृत विवरण अनिवार्य रूपमा ३ दिनभित्र पेश गर्न निर्देशन दिएको हो ।

विभागले पत्राचार गर्दै २०८२ साल चैत १ गतेदेखि हालसम्म संस्थागत श्रम स्वीकृति लिएर विदेश पठाइएका सबै श्रमिकहरूको विवरण उपलब्ध गराउन भनेको हो । वैदेशिक रोजगार ऐनमा श्रमिकलाई विदेश पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै विभागले सो अवधिमा कुन–कुन श्रमिकलाई कुन मितिमा, कुन विमानस्थलमार्फत र कुन गन्तव्य मुलुकमा पठाइएको हो भन्ने विवरण माग गरेको छ ।

विभागका अनुसार मेनपावर कम्पनीहरूले श्रमिकको नाम, राहदानी नम्बर, श्रम स्वीकृति प्राप्त गरेको मिति, गन्तव्य मुलुक, उडान मिति तथा प्रयोग गरिएको विमानस्थल खुल्ने गरी तोकिएको ढाँचामा विवरण पेश गर्नुपर्नेछ । विभागले उक्त विवरण समयमै उपलब्ध गराई वैदेशिक रोजगारीसम्बन्धी अभिलेख अद्यावधिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित संस्थाहरूलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  १७ : ३९  बजे