परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा, द्विपक्षीय सम्बन्ध र लगानी सहकार्यमा केन्द्रित हुने

काठमाडौं, जेठ ३१ परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्दै हुनुहुन्छ। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उहाँ बेइजिङ जान लाग्नुभएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनाल र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच नेपाल–चीन सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्य विस्तारका विविध पक्षमा उच्चस्तरीय वार्ता हुनेछ।

वार्तामा दुई देशबीचको मित्रवत सम्बन्धलाई थप सुदृढ बनाउने, व्यापार, पूर्वाधार, लगानी तथा विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ। साथै समसामयिक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा समेत विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले चीनका अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना हुने एक लगानी सम्मेलनमा सहभागी हुँदै उहाँले चिनियाँ व्यवसायी तथा लगानीकर्तासँग अन्तरक्रिया गर्नुहुनेछ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार  ०८ : ४६  बजे