काठमाडौं, ३० जेठ । भारतीय पर्यटकको आगमनसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला भरिभराउ बनेको छ । लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुङ्गा सयरदेखि ट्रेकिङ गतिविधिसम्म चलायमान बनेको छ ।
फेवातालमा एकै दिन ५ हजारभन्दा धेरै पर्यटकले डुङ्गा सयर गरेको डुङ्गा व्यवसायीले बताएका छन् । त्यस्तै, अन्नपूर्ण क्षेत्रलगायत आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ ।
पर्यटकको बढ्दो चापसँगै पोखराका धेरैजसो होटल भरिभराउ भएका छन् । पर्यटकले होटल भरिएपछि व्यवसायीहरू खुशी छन् । ‘अफसिजन’ मानिने यो बेला पनि पोखरामा भारतीय पर्यटकको संख्या बढेको ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रुपमा लिन सकिने उहाँ बताउनुहुन्छ ।
होटल संघ पोखराका अध्यक्ष लक्षुमण सुवेदीकाअनुसार विगत ३२ वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएका छन् । वैशाख नयाँ वर्षयता बढेको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ ।
पोखरा मात्र नभई गण्डकी प्रदेशका अन्य धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ र विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ । भारतमा बढ्दो गर्मी छल्न र बिदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन् ।








प्रतिक्रिया