काठमाडौं, २९ जेठ । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ। काठमाडौं उपत्यकालगायत केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ भने दिनभरि पनि मौसम बदली रहने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस र वाग्मती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा भने आंशिक बदली रहने जनाइएको छ।
विभागले कोसी र मधेस प्रदेशलगायत हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ।
रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहने मौसमविद्ले बताएका छन्। केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिमसमेत रहेको छ।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार पश्चिमी वायु पूर्वतर्फ सर्दै गएको र मनसुनी वायु नेपाल प्रवेश गर्ने क्रममा रहेकाले देशका पश्चिम, मध्य तथा पूर्वी क्षेत्रमा वर्षासँगै हावाहुरीको सम्भावना बढेको छ।
उहाँले तराई क्षेत्रमा गर्मी केही कम हुने भए पनि केही स्थानमा हावाहुरी र चट्याङका कारण सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको मौसमविद्हरूले जनाएका छन्। मौसमविद्हरूले वर्षा, चट्याङ र हावाहुरीबाट हुन सक्ने सम्भावित क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।








प्रतिक्रिया