काठमाडौं, २८ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा अतिक्रमित सरकारी जग्गा खाली गराउने क्रममा प्रहरीमाथि धारिलो हतियार प्रहार भएको छ। घटनामा संलग्न एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बैजनाथ गाउँपालिका–६ स्थित एच गाउँमा रहेको ईश्वरी माध्यमिक विद्यालयको जग्गामा बनाइएका अवैध संरचना हटाउन डोजर चलाउने क्रममा स्थानीय एक महिलाले सुरक्षार्थ खटिएको प्रहरी टोलीमाथि दाउ प्रहार गरेकी हुन्।
प्रहरीका अनुसार उक्त जग्गामा घरटहरा निर्माण गरी बस्दै आएकी करिब ३६ वर्षीया शाबित्री कुमारी शाहीले प्रहरीमाथि आक्रमण गरेकी थिइन्। आक्रमणबाट प्रहरी चौकी सम्झना, बाँकेमा कार्यरत प्रहरी हवल्दार सुनिलकुमार चौधरी घाइते हुनुभएको छ।
प्रहरीले जनाएअनुसार हवल्दार चौधरीको दाहिने काँध पछाडिको भागमा सामान्य चोट लागेको छ र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
घटनालगत्तै प्रहरीले शाबित्री कुमारी शाहीलाई घटनास्थलबाट दाउसहित नियन्त्रणमा लिएको छ। उहाँमाथि आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पटक–पटकको सूचना अटेर गरेपछि डोजर
ईश्वरी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको उक्त जग्गा यसअघि लिजमा दिइएको थियो। लिज अवधि समाप्त भएपछि तथा सम्झौताका सर्तहरू उल्लङ्घन भएपछि विद्यालय र गाउँपालिकाले पटक–पटक सूचना जारी गर्दै जग्गा खाली गर्न आग्रह गरेका थिए।
तर सम्बन्धित पक्षले संरचना हटाउन नमानेपछि गाउँपालिका, प्रशासन र प्रहरीको संयुक्त टोली डोजरसहित अतिक्रमण हटाउन पुगेको थियो।
जिल्ला प्रशासन कार्यालय बाँकेले समेत जेठ २७ गते पत्राचार गर्दै अतिक्रमित संरचना हटाउने प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा बुधबार संरचना हटाउने कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ।








प्रतिक्रिया