भोलिदेखि निजामती अस्पतालको सेवा प्रदेशस्तरमा विस्तार, नारायणी र भरतपुर अस्पतालबाट सेवा पाइने

काठमाडौं, २४ जेठ । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को स्वास्थ्य सेवा अब प्रदेशस्तरबाट पनि उपलब्ध हुने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं बाहिर रहेका निजामती कर्मचारीहरूलाई लक्षित गर्दै सेवा विस्तारको योजना कार्यान्वयनमा ल्याएको हो।

मन्त्रालयका अनुसार प्रदेशस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित पहिलो चरणमा मधेश प्रदेशको पर्सास्थित नारायणी अस्पताल र बागमती प्रदेशको भरतपुर अस्पताल मार्फत सेवा सञ्चालन गरिनेछ। आइतबार यी दुई अस्पतालसँग सम्झौता सम्पन्न भएसँगै सोमबारदेखि सेवा सुरु हुने भएको हो।

सामान्य प्रशासन मन्त्री प्रतिभा रावल ले काठमाडौं उपत्यका बाहिर कार्यरत निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशमै सेवा विस्तार गरिएको बताउनुभयो।

सम्झौताअनुसार निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले काठमाडौंस्थित निजामती कर्मचारी अस्पतालबाट प्राप्त हुने छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा सम्बन्धित प्रदेश अस्पतालबाटै पाउनेछन्।

सेवा लिनका लागि निजामती कर्मचारी वा अवकाशप्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मधेश र बागमती प्रदेशपछि अन्य प्रदेशमा पनि सेवा विस्तारको तयारी भइरहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँगको समन्वयमा थप सेवा प्रदायक अस्पतालहरूको सूचीकरण भइसकेको र आवश्यक प्रक्रिया पूरा भएपछि देशभरका प्रदेश अस्पतालमार्फत पनि निजामती कर्मचारी अस्पतालको सहुलियतयुक्त सेवा उपलब्ध गराइनेछ।

सरकारले यस कदमबाट राजधानी बाहिर रहेका हजारौं निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई उपचार सेवामा सहज पहुँच पुग्ने विश्वास लिएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार  २१ : ५०  बजे