प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले महासचिव पोखरेलको प्रश्न– ‘उहाँ नेपाल राष्ट्रको प्रतिनिधित्व गर्नुहुन्छ कि अरू कसैको ?’

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले प्रधानमन्त्री बालेन्द्र शाह ले संसदमा व्यक्त गर्नुभएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गम्भीर प्रश्न उठाउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतामाथि प्रश्न खडा गरेको बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको धारणा अस्वाभाविक रहेको उल्लेख गर्दै त्यसले प्रधानमन्त्रीको भूमिकामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो ।

“बालेन्द्र शाहले आज संसदमा दिनुभएको अभिव्यक्तिले उहाँ नेपाल राष्ट्रको प्रतिनिधित्व गर्नुहुन्छ कि अरू कसैको भन्ने गम्भीर प्रश्न खडा भएको छ,” पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धी विषयमा बोल्दै नेपालले पनि केही स्थानमा भारतको भूमि अतिक्रमण गरेको जानकारी आफूले पाएको बताउनुभएको थियो । उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस र प्रतिक्रिया तीव्र बनेको छ ।

यसैक्रममा एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीको भनाइप्रति असहमति जनाउँदै राष्ट्रिय हितसँग जोडिएका विषयमा थप जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति आवश्यक रहेको संकेत गर्नुभएको छ ।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दल, सीमाविद् तथा सरोकारवाला पक्षबाट निरन्तर प्रतिक्रिया आइरहेका छन् ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार  २१ : ३६  बजे