सरकारलाई संसद्प्रति जवाफदेही बनाउन निलम्बित हुन पनि तयार छौँ – हर्क साम्पाङ

काठमाडौं, ६ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरू निलम्बित हुन पनि तयार रहेको टिप्पणी गर्नुभएको छ ।

बुधबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरूको विरोध आगामी दिनमा पनि निरन्तर हुने बताउनुभयो । विरोध गरेकै कारण आफूहरू निलम्बन हुन पनि तयार रहेको बताउनुभयो ।सरकारलाई प्रश्न गर्न नदिने गरी सभामुखले रुलिङ गरेको उहाँको आरोप छ । आफूहरूले त्यसको पनि विरोध गरेको उहाँको भनाइ छ ।

सार्वभौम संसद् र संसद्को विधि–विधानका लागि निलम्बन हुन तयार रहेको उहाँको भनाइ छ ।सुकुम्वासी, लिपुलेक, विदेशी ऋणलगायत आफूहरूका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उहाँले बताउनुभयो । सरकारले जनताको प्रश्नको उत्तर नदिएको भन्दै त्यसको मूल्यांकन जनताले गर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार  १८ : १३  बजे