अब प्रहरीमा उजुरी दिन कार्यालय जानै नपर्ने, ‘प्रहरी एप’बाटै सेवा सुरु

काठमाडौँ, ५ जेठ । नेपाल प्रहरीले डिजिटल सेवातर्फ महत्वपूर्ण कदम चाल्दै अब प्रहरीमा उजुरी दिन कार्यालय धाउन नपर्ने व्यवस्था सुरु गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मंगलबार ‘प्रहरी एप’ सार्वजनिक गर्दै पीडितले घरबाटै अनलाइनमार्फत उजुरी दर्ता गर्न सक्ने जानकारी दिनुभयो।

नेपाल प्रहरी रणनीति योजना २०८३–२०८५ सार्वजनिक गर्ने क्रममा आईजीपी कार्कीले प्रमाणसहितको उजुरी अब मोबाइल एपमार्फत पठाउन सकिने बताउनुभयो। एपमार्फत उजुरी गर्दा घटनास्थलको लोकेसनसमेत छनोट गर्न सकिनेछ र सोही क्षेत्रअन्तर्गतको प्रहरी कार्यालयमा उजुरी स्वतः दर्ता हुनेछ।

उहाँका अनुसार उजुरी दर्तापछि अनुसन्धानको प्रगति तथा आवश्यक जानकारी पनि एपमार्फत नै पीडितलाई उपलब्ध गराइनेछ। “अब उजुरी दिन प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ,” आईजीपी कार्कीले भन्नुभयो, “हामी डिजिटल रेकर्ड प्रणालीमा गएका छौँ, अब पीडितको फाइल हराउने अवस्था रहने छैन।”

नेपाल प्रहरीले सार्वजनिक गरेको रणनीति योजनामा नीतिगत तथा कानुनी सुधार, समुदाय–प्रहरी सहकार्य सुदृढीकरण, अपराध रोकथाम, प्रविधिमैत्री सेवा विस्तार तथा कार्यक्षमता सुधारलाई प्राथमिकतामा राखिएको छ।

दीर्घकालीन योजनाअन्तर्गत शान्ति सुरक्षा सुदृढ बनाउने, जनविश्वास बढाउने, दक्ष जनशक्ति विकास गर्ने तथा सूचना प्रविधिमा आधारित प्रहरी सेवा विस्तार गर्ने लक्ष्यसमेत अघि सारिएको छ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार  २१ : ४८  बजे