नेपाल बार एसोसिएसनद्वारा आज दिउँसै लालटिन बालेर विरोध प्रदर्शन, न्यायिक प्रक्रियामाथि प्रश्न

काठमाडौं, ५ जेठ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनको पछिल्लो गतिविधि र रिट तथा निवेदन दर्ता नगरेको आरोपसहित आज विरोध कार्यक्रम गर्ने भएको छ। बारले दिउँसै लालटिन बालेर “न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी” गर्ने निर्णय गरेको हो।

बारले सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानसँग भेट गरेपछि बसेको बैठकले सर्वोच्च प्रशासनको कार्यशैलीलाई ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ भन्दै कडा आपत्ति जनाएको छ। बार महासचिव केदार कोइरालाका अनुसार बार परिसरमा कानुन व्यवसायीको सहभागितामा विरोध कार्यक्रम आयोजना गरिनेछ।

बारका अनुसार सर्वोच्च अदालतमा दर्ता हुन आएका रिट तथा निवेदनहरू विनाकारण दरपीठ गरी फर्काइएको कारण न्यायिक पहुँचमै अवरोध उत्पन्न भएको छ। यसले नागरिकको न्याय पाउने अधिकार प्रभावित भएको बारको ठहर छ।

बारले संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३, तथा सर्वोच्च अदालत नियमावली २०७४ अनुसार दर्ता प्रक्रिया अघि बढाउनुपर्नेमा प्रशासनले अवज्ञा गरेको आरोप पनि लगाएको छ। साथै कामु प्रधानन्यायाधीशको आदेशसमेत कार्यान्वयन नभएको विषयलाई बारले ‘असाधारण र अप्राकृतिक अवस्था’ भनेको छ।

बारको निर्णयअनुसार आज दिउँसो १:१५ बजे नेपाल बार परिसरमा लालटिन बालेर विरोध कार्यक्रम गरिनेछ। कार्यक्रममा न्यायिक प्रक्रिया, विवेक र स्वच्छताका पक्षमा आवाज उठाइने जनाइएको छ।

त्यसैगरी अदालतमा विचाराधीन विषयमा संसदमा भएको टिप्पणीप्रति पनि बारले गम्भीर ध्यानाकर्षण जनाएको छ। बारले यस्ता अभिव्यक्तिहरू संविधानअनुसार सीमित हुनुपर्ने उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट व्यवस्था आवश्यक रहेको बताएको छ।

बारले आगामी दिनमा आवश्यकताअनुसार थप आन्दोलन तथा कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार  १० : ००  बजे