सभामुखले तीन पटक नाम बोलाउँदा पनि अनुपस्थित रास्वपा सांसद कार्की

काठमाडौं, ४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की सोमबार प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएपछि चर्चामा आएका छन् ।

सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि कार्कीको नाम तीन पटकसम्म बोलाउँदा पनि उनी संसद् हलमा उपस्थित नभएको देखिएको हो ।

आकस्मिक समयमा बोल्ने सूचीमा नाम रहेका कार्कीको स्थानमा सभामुखले “माननीय सदस्य कृष्णकुमार कार्की” भनेर पटक–पटक आह्वान गरे पनि उनले माइक नलिएको जनाइएको छ ।

सभामुखले नाम बोलाउँदा समेत अनुपस्थित भएपछि रास्वपाकै अर्का सांसद केपी खनालले आकस्मिक समयमा बोल्नुभएको थियो ।

आकस्मिक समयमा बोल्नका लागि सांसदहरूले संसद् सचिवालयमार्फत नाम टिपाउने प्रचलन छ । तर कार्की बैठकमा देखिनु भएन ।

यसअघि सार्वजनिक भएका विभिन्न विवादास्पद प्रसंगसँग जोडिँदै सांसद कार्कीको अनुपस्थितिलाई लिएर राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

सभामुखले तीन पटकसम्म नाम बोलाउँदा पनि सांसद कार्की अनुपस्थित रहेपछि बैठकको कार्यसूची अघि बढाइएको थियो ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार  २१ : ०२  बजे