काठमाडौं, ४ जेठ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र तनावप्रति सांकेतिक विरोध जनाउने भएको छ ।
बारले अदालतमा रिट निवेदनसमेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै विरोधस्वरूप मंगलबार दिउँसो लालटिन बाल्ने निर्णय गरेको हो ।
सोमबार अपराह्न सम्पन्न बार केन्द्रीय कार्यसमिति बैठकले न्यायिक प्रक्रियामाथि गम्भीर प्रश्न उठेको निष्कर्ष निकाल्दै सांकेतिक विरोध गर्ने निर्णय गरेको हो ।
बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे बारको कार्यालय प्राङ्गणमा लालटिन बालिनेछ ।
उनले अदालतमा न्याय खोज्न जाने नागरिकका रिट तथा मुद्दा दर्ता नै नहुने अवस्था गम्भीर चिन्ताको विषय भएको बताउनुभयो ।
“यदि अदालतमा रिट र मुद्दा नै दर्ता हुँदैन भने जनताले न्याय कहाँ खोज्ने? न्याय पाउन कहाँ जाने?” उहाँले प्रश्न गर्नुभयो ।
सोमबार सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश अस्वीकार गर्दै प्रशासनका कर्मचारीले फाइल बोकेर बाहिरिएको घटना पनि सार्वजनिक भएको छ ।
मल्लले प्रधानन्यायाधीश सिफारिसविरुद्धका निवेदन दरपीठ नगरी दर्ता गर्न आदेश दिनुभएको थियो ।








प्रतिक्रिया