कांग्रेसको आरोप: निजी क्षेत्रमाथि धरपकड, अर्थमन्त्रीमाथि प्रश्न

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले निजी क्षेत्रमाथि धरपकड गरेकोप्रति गम्भीर आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उहाँले उद्यमी–व्यवसायीलाई तर्साउने र पक्राउ गर्ने सरकारी प्रवृत्तिले अर्थतन्त्र कमजोर बन्दै गएको आरोप लगाउनुभयो ।

उहाँले सरकारको नीति र व्यवहारबीच ठूलो विरोधाभास रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई सहयात्री बनाउने भनाइ व्यवहारमा लागू नभएको बताउनुभयो ।

“सरकार गठनपछि प्रतिष्ठित उद्योगी–व्यवसायी पक्राउ परेका छन्। सरकारले पहिला थुन्ने अनि मात्र सुन्ने नीति अपनाएको हो?” भन्दै उहाँले प्रश्न गर्नुभयो ।

सचेतक राईले यस्तो व्यवहारले समग्र अर्थतन्त्र कमजोर हुने दाबी गर्नुभयो ।

उहाँले अर्थमन्त्रीलाई लक्षित गर्दै सरकारको कार्यशैलीमाथि पनि प्रश्न गर्नुभयो, “के अर्थमन्त्री स्वयं दयनीय अवस्थामा पुग्नुभएको हो? सञ्चार माध्यमबाट मात्रै जानकारी पाउने अवस्था हो भने सरकार कसरी चलिरहेको छ?”

उहाँका अनुसार निजी क्षेत्रलाई तर्साउने प्रवृत्तिले सरकारको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न कठिन हुने छ ।

कांग्रेसले आगामी बजेट उत्पादनमुखी, रोजगारमुखी र निजी क्षेत्रमैत्री हुनुपर्ने माग पनि गरेको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार  २० : ४४  बजे