काठमाडौं, ४ जेठ । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने काम गरिरहेको आरोप लगाएकी छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद झाँक्रीले रिसेड्युल एसेट र लिक्विडेसनसम्बन्धी विषयमा प्रचलित कानुन र बैंकिङ प्रणालीको मर्म नबुझी बैंकका सीईओमाथि आक्षेप लगाएर पक्राउ गर्नु कानुनको मर्मविपरीत भएको बताइन् ।
उहाँले बचतकर्ताको निक्षेप परिचालन गर्ने बैंक नेतृत्वलाई सम्पत्तिको स्वामित्वसम्बन्धी प्रश्नकै आधारमा पक्राउ गर्नु गैरकानुनी भएको उल्लेख गर्दै सुशासनको नाममा निजी क्षेत्रमाथि आतंक सिर्जना गर्न खोजिएको टिप्पणी गर्नुभयो ।
“तर्साएर शासन गर्ने दिन ढिलो–चाँडो जान्छ,” सांसद झाँक्रीले भन्नुभयो, “सरकारले प्रचलित कानुन र बैंकिङ प्रणालीको मर्म बुझेर मात्रै कदम चाल्नुपर्छ ।”
उहाँले सरकारलाई निजी क्षेत्रप्रति जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्दै कानुनी प्रक्रिया र वित्तीय प्रणालीको सम्मान गर्न चेतावनीसमेत दिनुभयो ।








प्रतिक्रिया