संविधान संशोधनमा ‘स्टन्ट’ नगर्न सरकारलाई गगन थापाको चेतावनी

काठमाडौँ, ३ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले संविधान संशोधनका विषयमा राजनीतिक ‘स्टन्ट’ नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई लोकप्रियता कमाउने वा राजनीतिक लाभका लागि प्रयोग गर्न नहुने स्पष्ट पार्नुभयो।

सभापति थापाले संविधान पुनरवलोकन संवैधानिक व्यवस्था अनुसार जिम्मेवार र गम्भीर प्रक्रियामार्फत अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सरकारमाथि लक्षित गर्दै “मैले गर्न खोजेको थिएँ, अर्काले गर्न दिएन” भन्ने किसिमको राजनीतिक सन्देश फैलाउने प्रयास नगर्न पनि आग्रह गर्नुभयो।

उहाँले संविधान संशोधन कुनै पनि हतार, सनक वा हल्लाको भरमा नभई सहमति र गम्भीर छलफलका आधारमा अघि बढाउनुपर्ने बताउनुभयो।

थापाले संविधान संशोधन प्रक्रियालाई सहज बनाउन संसद्भित्रै राष्ट्रिय सभा र प्रतिनिधि सभाको प्रतिनिधित्व रहने गरी सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गर्नुभयो।

उहाँका अनुसार यस्तो संयन्त्रमार्फत साझा धारणा बनाउँदा दलहरूबीच विश्वास, सहकार्य र सहमतिको वातावरण मजबुत हुने बताउनुभयो।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार  २२ : ०२  बजे