वडा सचिवलाई धम्क्याउने रास्वपा कार्यकर्ता प्रकाश खड्का पक्राउ

काठमाडौं, २ जेठ । दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसर का प्रवक्ता पवन भट्टराई का अनुसार २२ वर्षीय खड्कालाई शनिबार दिउँसो करिब साढे २ बजे नियन्त्रणमा लिइएको हो। उनी हाल वीरेन्द्रनगर नगरपालिका–६ मा बस्दै आएका छन्।

प्रहरीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय–त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

खड्काले “प्रधानमन्त्री कार्यालयबाट बोलेको” भन्दै वडा सचिवलाई फोनमार्फत धम्की दिएको अडियो सार्वजनिक भएपछि घटनाले चर्चा पाएको थियो। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कारबाहीका लागि निर्देशन दिएको थियो।

प्रहरीका अनुसार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी का कार्यकर्ता हुन्। उनले सुर्खेतबाट पार्टी सदस्यता लिएको खुलाइएको छ।

घटनापछि रास्वपा दैलेखले समेत उनीमाथि कारबाही गर्न सिफारिस गरेको जनाइएको छ।

प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार  २१ : ००  बजे