काठमाडौं, २९ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक आदरणीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहलाई संसद्को मर्यादापालनमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ।
मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उहाँले संसद्को गरिमा, मर्यादा र भूमिकालाई सुदृढ नगरी देशलाई सही दिशातर्फ अघि बढाउन नसकिने स्पष्ट पार्नुभयो।
उहाँले नेपालको भूराजनीतिक संवेदनशील अवस्थाले गहिरो विवेक, संयम र जिम्मेवार राजनीतिक आचरणको माग गर्ने उल्लेख गर्दै सबै पक्षलाई मर्यादित बन्न आग्रह गर्नुभयो।
“हाम्रो भू–राजनीतिक अवस्थितिले ठूलो विवेक र संयमको माग गर्दछ। संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामी अघि जान सक्छौं,” उहाँले भन्नुभयो, “हिजोको गतिविधि र प्रमुख प्रतिपक्षी दलका नेताले राख्नुभएको भनाइलाई म समर्थन गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले केही निश्चित मर्यादापालन नगर्ने हो भने संसद्को गरिमा रहन सक्दैन।”
उहाँले प्रधानमन्त्रीको कार्यशैली र व्यवहारले मुलुकको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले सबै पक्षले गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो।
“यसमा हामी सबैको ध्यान जाओस्। सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यशैलीमा हामी सबैको भविष्य जोडिएको छ,” उहाँले उल्लेख गर्नुभयो।
संसद्भित्रको आचरण र राजनीतिक मर्यादाबारे चासो बढिरहेका बेला प्रचण्डको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।








प्रतिक्रिया