काठमाडौं, २५ वैशाख । श्रम संस्कृति पार्टीका नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै किराँतीले सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको बताउनुभएको हो । उहाँले पार्टीहरू धार्मिक संस्थाजस्ता भएको र नेताहरूको ‘देवत्वकरण’ भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो। मुलुकका पुराना राजनीतिक दलहरूमा तानाशाही प्रवृत्ति हावी भएको र विचौलियाको घेराबन्दीमा नेतृत्व फसेको आरोप लगाउनुभयो । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता किराँतीले आफूले पुरानो दल (नेकपा माओवादी केन्द्र) त्याग्नुको मुख्य कारण आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको कार्यशैली रहेको बताउनुभयो । उहाँले पार्टीभित्र आफ्ना कुरा राख्न दुई मिनेटको समयसमेत नदिइएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘सरकार नाजीवादको घोडामा चढेर हिँडिरहेको छ। तर सम्झिइराखोस्, नाजीवाद र फासीवाद इतिहासको चिहानमा पुरिइसकेको छ। मैले छोड्ने बेलामा दुई मिनेट बोल्छु भन्दा पनि पाइनँ। त्यस्तो स्थितिमा हामी थियौँ ।पार्टी र सत्ता सञ्चालनमा भइरहेको अप्राकृतिक हस्तक्षेप अब स्वीकार्य छैन।’
21
Shares








प्रतिक्रिया