काठमाडौं, २५ वैशाख । नेपाल बार एसोसिएसन ले प्रधानन्यायाधीश सिफारिस प्रकरणबारे साझा धारणा तय गर्न आज आकस्मिक बैठक बोलाएको छ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उत्पन्न विवाद र असन्तुष्टिका बीच बारले आफ्नो आधिकारिक धारणा निर्माण गर्न छलफल गर्न लागेको हो।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइराला का अनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् तथा पूर्वपदाधिकारीहरूलाई समेत सहभागी गराइनेछ। उनीहरूको राय, सुझाव र कानुनी दृष्टिकोणका आधारमा बारले औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
“बारले शुक्रबार नै सल्लाहकारहरूको बैठक डाकेको छ। प्राप्त राय–सुझावका आधारमा आगामी धारणा तय हुनेछ,” महासचिव कोइरालाले बताउनुभयो।
बिहीबार बसेको संवैधानिक परिषद् बैठकले बहुमतका आधारमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै परिषद्का सदस्य तथा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे ले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया, संवैधानिक परिषद्को निर्णय प्रणाली तथा अध्यादेशमार्फत गरिएको कानुनी संशोधनबारे राजनीतिक र कानुनी वृत्तमा बहस तीव्र भइरहेका बेला नेपाल बार एसोसिएसनको धारणा अर्थपूर्ण रूपमा हेरिएको छ।








प्रतिक्रिया