मनोज शर्मा प्रधानन्यायाधीशका लागि सिफारिस

काठमाडौं, २४ वैशाख । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि मनोज शर्मालाई सिफारिश गरिएको छ। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो। प्रधानन्यायाधीशका न्याय परिषद्ले सिफारिस गरेका ६ जनामा उहाँ चौथो वरियतामा हुनुहुन्थ्यो ।

वैधानिक परिषद्ले पहिलो वरियतामा रहेका कायमुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियतामा रहेका न्यायाधीश कुमार रेग्मी र तेस्रो वरियतामा रहेका न्यायाधीश हरिप्रसाद फुयाललाई छोडेर चौथो वरियताका शर्मालाई रोजेको हो। उहाँ२०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो। अब उहाँ प्रधानन्यायाधीश नियुक्त भएमा ६ वर्ष सर्वोच्च अदालतको नेतृत्व गर्नुहुने छ । संवैधानिक परिषद्ले सिफारिस गरेसँगै संसदीय सुनुवाइ हुनेछ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि नियुक्तिका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ। राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

२०२७ असार ४ मा पर्सामा जन्मिनुभएका शर्मा २०९२ असार ३ मा ६५ वर्ष पुग्नुहुने छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीशको कार्यकाल ६ वर्षको हुन्छ। उहाँ २०८९ वैशाखसम्म सर्वोच्चको नेतृत्वमा रहनुहुने छ । २०४७ सालयता कुनै पनि प्रधानन्यायाधीशले ६ वर्षे कार्यकाल पूरा गरेका छैनन्। उमेरहदका कारण कार्यकाल सकिन अघि नै अवकास पाएका थिए।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार  १९ : ३०  बजे