चुनावी नतिजाले होइन, जनतासँगको सम्बन्धले तय हुन्छ वामपन्थको भविष्य : शंकर पोखरेल

काठमाडौं, २४ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले नेपाली वामपन्थी आन्दोलनको भविष्य कुनै एक चुनावी परिणामले निर्धारण नहुने बताउनुभएको छ। भारतको केरला राज्यमा वामपन्थी शक्तिको पराजयलाई लिएर नेपालमा वाम आन्दोलन संकटमा परेको विश्लेषण भइरहेका बेला उहाँले त्यसलाई अतिरञ्जित व्याख्या भएको टिप्पणी गर्नुभएको हो।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले नेपालको वामपन्थी आन्दोलनको आधार जनतासँगको सम्बन्ध, राष्ट्रहितका पक्षमा गरिने गतिविधि तथा भविष्यमुखी राजनीतिक एजेन्डाले तय गर्ने उल्लेख गर्नुभयो। उहाँले अहिले देखिएको राजनीतिक पराजय केवल वामपन्थी शक्तिको मात्र नभई समग्र लोकतान्त्रिक शक्तिहरूको चुनौतीका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो।

उहाँले भारतको केरला राज्यको राजनीतिक इतिहासमा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको उल्लेख गर्दै त्यहाँको पछिल्लो परिणामलाई नेपालको सन्दर्भसँग सीधा तुलना गर्नु उपयुक्त नहुने बताउनुभयो। अघिल्लो निर्वाचनमा अपवादस्वरूप वाम गठबन्धन पुनः सत्तामा फर्किएको स्मरण गर्दै उहाँले लोकतान्त्रिक अभ्यासमा जनमत परिवर्तन स्वाभाविक प्रक्रिया भएको धारणा व्यक्त गर्नुभयो।

महासचिव पोखरेलले अहिलेको आवश्यकता हारको कारण खोज्ने, त्यसको गम्भीर समीक्षा गर्ने र लोकतान्त्रिक शक्तिहरूको पुनर्गठनका लागि स्पष्ट रणनीति निर्माण गर्ने भएको बताउनुभयो। उहाँका अनुसार लोकतन्त्रलाई सुरक्षित र सुदृढ बनाउन राजनीतिक दलहरूले जनतासँगको विश्वास पुनः स्थापित गर्न आवश्यक छ।

उहाँले संकट र चुनौतीको समयमा निराशा वा पलायनको बाटो रोज्नु उचित नहुने पनि उल्लेख गर्नुभयो। “क्रान्तिकारी शक्ति भनेको चुनौतीसँग जुध्ने र प्रतिकूल अवस्थालाई अवसरमा बदल्ने शक्ति हो,” भन्ने आशय व्यक्त गर्दै उहाँले राजनीतिक आन्दोलनमा धैर्य, आत्मसमीक्षा र पुनर्जागरण आवश्यक रहेको धारणा राख्नुभयो।

पछिल्लो समय नेपालमा वामपन्थी दलहरूको आन्तरिक विभाजन, घट्दो जनविश्वास तथा बदलिँदो राजनीतिक समीकरणका विषयमा बहस भइरहेका बेला महासचिव पोखरेलको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार  ११ : ४९  बजे