काठमाडौं, २३ वैशाख । सुकुम्बासी तथा भूमिहीनमाथि गरिएको डोजर अभियानको विरोधमा झापा क्षेत्र नं. ५ मा आन्दोलन चर्किएको छ। आफूहरूले निर्वाचित गराएका प्रधानमन्त्री बालेन्द्र शाहकै नेतृत्वमा सरकारले विस्थापन गरेको भन्दै स्थानीय सुकुम्बासी र भूमिहीन समुदाय सडकमा उत्रिएका हुन्।
बुधबार झापाको दमक क्षेत्रमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै वैकल्पिक व्यवस्था नगरी वर्षौँदेखि बसोबास गर्दै आएको स्थानबाट जबरजस्ती हटाउन खोजिएकोप्रति असन्तुष्टि जनाए। अखिल नेपाल सुकुम्बासी सङ्घको आयोजनामा निकालिएको र्यालीले नगरका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो।
यसअघि कमल गाउँपालिका र बिर्तामोडमा पनि सुकुम्बासीहरूले प्रदर्शन गर्दै संघीय सरकारको कदमको विरोध गरेका थिए। भूमि अधिकार तथा श्रमिक संगठनको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले बसोबासको अधिकार सुनिश्चित गर्न र लालपूर्जा उपलब्ध गराउन माग गरेका छन्।
प्रदर्शनकारीहरूले “वैकल्पिक व्यवस्थाविना विस्थापन अमानवीय हो” भन्दै डोजर अभियान तत्काल रोक्न आग्रह गरेका छन्। उनीहरूले वर्षौँदेखि बसोबास गर्दै आएको स्थानमै भूमि स्वामित्व दिलाउनुपर्ने माग समेत राखेका छन्।
यता, स्थानीय तहका जनप्रतिनिधिहरूले समेत संघीय सरकारको कदमप्रति असहमति जनाएका छन्। दमक नगरपालिकाका मेयर रामकुमार थापाले सुकुम्बासीमाथि डोजर चलाउन नदिने स्पष्ट पार्दै प्रशासनबाट आएको विवरण माग्ने पत्रप्रति आपत्ति जनाउनुभयो। “स्थानीय सरकार जननिर्वाचित निकाय हो, यसलाई निर्देशन दिने शैली स्वीकार्य छैन,” उहाँले भन्नुभयो।
त्यस्तै, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पनि सुकुम्बासी बस्तीमा डोजर नचलाइने बताउँदै विगतका भूमि आयोगले अपेक्षित काम गर्न नसक्दा समस्या जटिल बनेको उल्लेख गर्नुभयो। उहाँले भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गर्नुभयो।
पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानविरुद्ध विरोध चर्किँदै गएको छ। यसले सुकुम्बासी व्यवस्थापन, भूमि अधिकार र मानवीय पक्षबारे राष्ट्रिय बहसलाई अझ तीव्र बनाएको छ।








प्रतिक्रिया