काठमाडौं, १८ वैशाख । काठमाडौंमा फास्टफुड क्षेत्रलाई स्वच्छ, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने उद्देश्यसहित Fast Food Association Nepal (फास्ट–फ्यान) द्वारा आयोजित नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान, क्यालेन्डर लोकार्पण तथा GMP–HACCP आधारित प्रशिक्षण म्याराथन समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
बुद्धनगरस्थित Quality Banquet मा आयोजित उक्त कार्यक्रम फास्ट–फ्यानका अध्यक्ष Homraj Shrestha को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री Bindu Shrestha को उपस्थिति रहेको थियो।
कार्यक्रममा Gorkha Brewery Pvt. Ltd. का सेल्स डाइरेक्टर काजिमान सुब्बा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सतिसकुमार मण्डल, जिल्ला होटल एसोसिएसनका अध्यक्ष सुरेश बराल, राजधानी डेरीका सञ्चालक गोपाल बजगाईंलगायत विभिन्न क्षेत्रका प्रतिनिधि, उद्यमी व्यवसायी, प्रशिक्षार्थी र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन फास्ट–फ्यानका महासचिव राकेश श्रेष्ठले गर्नुभएको थियो।
बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा देशभरबाट आएका फास्टफुड व्यवसायी, खाद्य विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा नयाँ वर्षको शुभकामना आदान–प्रदानसँगै व्यवसायिक सुदृढीकरण, गुणस्तर अभिवृद्धि र खाद्य सुरक्षाप्रति साझा प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा GMP (Good Manufacturing Practice) र HACCP (Hazard Analysis and Critical Control Points) मा आधारित प्रशिक्षण म्याराथनको औपचारिक समापन गरिएको थियो। करिब एक महिनासम्म सञ्चालन भएको उक्त तालिममा ३५५ जनाको सहभागिता रहेको जनाइएको छ, जसमा २२५ जनालाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहलमार्फत प्रशिक्षण दिइएको थियो।
अध्यक्ष श्रेष्ठले फास्टफुड व्यवसायलाई नाफामुखी मात्र नभई उपभोक्ताको स्वास्थ्य र सुरक्षामुखी बनाउनुपर्नेमा जोड दिँदै गुणस्तर, स्वच्छता र विश्वास नै अबको प्रतिस्पर्धाको आधार हुने बताउनुभयो।
त्यसैगरी मन्त्री श्रेष्ठले खाद्य सुरक्षाको विषय झन् संवेदनशील बन्दै गएको उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। सुरक्षित र गुणस्तरीय खाद्य प्रणाली निर्माण सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ थियो।
कार्यक्रमकै अवसरमा फास्ट–फ्यानको वार्षिक क्यालेन्डर लोकार्पण गर्नुका साथै खाद्य स्वच्छता प्रवर्द्धन र संस्थागत योगदानमा उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
सहभागीहरूले यस्ता कार्यक्रमले व्यवसायीबीच सहकार्य, ज्ञान आदान–प्रदान र एकता सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्। २०६१ सालमा स्थापना भएको फास्ट–फ्यानले फास्टफुड क्षेत्रको स्तरोन्नति, व्यवसायीहरूको क्षमता विकास र उपभोक्तालाई सुरक्षित सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।
नयाँ वर्षको अवसरमा आयोजित यस कार्यक्रमले फास्टफुड क्षेत्रलाई अझ व्यवस्थित, प्रतिस्पर्धी र स्वास्थ्य–मैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।









प्रतिक्रिया