काठमाडौं, २३ चैत्र । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) श्रमदानमार्फत पुल निर्माण अभियानका लागि दार्चुलातर्फ प्रस्थान गर्नुभएको छ।
सोमबार सामाजिक सञ्जालमार्फत उहाँले आफू दार्चुला जान लागेको जानकारी दिँदै नागरिकहरूलाई श्रमदानमा सहभागी हुन आह्वान गर्नुभएको हो।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “म त लागें है दार्चुला ! आउनु है श्रमदान गरेर पुल बनाउन। विदेशी ऋण–सिन लिइँदैन, आफू त लागें।”
धरान उपमहानगरपालिकाको पूर्वमेयर रहँदादेखि नै श्रम संस्कृतिको अभियान चलाउँदै आउनुभएका साम्पाङले राष्ट्रिय राजनीतिमा प्रवेश गरेपछि पनि विकास निर्माणमा जनसहभागितालाई मुख्य एजेन्डाका रूपमा अघि बढाउँदै आउनुभएको छ।
उहाँले विकास निर्माणका लागि वैदेशिक ऋणमा निर्भर हुनुभन्दा स्वदेशी श्रम, पसिना र जनशक्तिको परिचालन नै दीर्घकालीन समाधान हुने धारणा राख्दै आउनुभएको छ।
विशेषगरी खानेपानी, सडक र सामुदायिक संरचना निर्माणमा श्रमदान अभियानमार्फत जनतालाई प्रत्यक्ष सहभागी गराउने उहाँको शैलीले विगतदेखि नै व्यापक चर्चा पाउँदै आएको छ।
दार्चुलामा पुल निर्माणका लागि सुरु गरिएको यो पहललाई पनि सामुदायिक विकासको प्रतीकात्मक अभियानका रूपमा हेरिएको छ।
साम्पाङले पुनः दोहोर्याउँदै विकासका लागि नागरिक स्वयं अग्रसर हुनुपर्ने र देश आफ्नै श्रमले निर्माण गर्न सकिने सन्देश दिनुभएको छ।
उहाँको यो अभियानले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाएको छ भने धेरै नागरिकले श्रमदानमा सहभागी हुने प्रतिबद्धता जनाइरहेका छन्।







प्रतिक्रिया