काठमाडौं,२१ चैत्र । रातो मच्छिन्द्रनाथको रथ आजदेखि बनाउन शुरु हुँदैछ । तिथिको आधारमा बनाइने रथमा एउटा पनि फलामको किला प्रयोग गर्न नहुने रथ बनाउन संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनुभयो ।
यसपालि रातो मच्छिन्द्रनाथलाई आँउदो वैशाख ५ गते रथारोहण गरेर ९ गतेबाट पुल्चोकबाट रथ तानिनेछ । हिजो बेलुकी रातो मच्छिन्द्रनाथलाई महास्नान गरेपछि रथ बनाउनको लागि साइत पुजा भएको थियो ।
हरेक वर्ष मच्छिन्द्रनाथलाई महास्नान गरेकै दिन रथ निर्माणका लागि पुल्चोकको दमकल चोकस्थित जोगाम्बर पीठमा गएर दुईजना मानिसले चार खम्बा गाडेर पुजा गर्ने गरिन्छ । यसैबीच हिजो महास्नान गरिएका रातो मच्छिन्द्रनाथलाई गुप्तबासमा राखिएको छ । महास्नानका दिन राति मच्छिन्द्रनाथलाई कसैले नदेख्ने गरी मन्दिर लगेर ७ दिनसम्म गुप्तबास राख्ने गरिएको छ ।
आउँदो अष्टमी २७ गतेबाट मूर्तिलाई गुप्तबासबाट निकालेर मर्मत संभार गरेर रंगरोगन गरिनेछ । यस्तै दोलखामा रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ । दोलखामा ६ दिन रथ तान्ने परम्परा छ । आज रथयात्राको पहिलो दिन रथलाई पिगला टोलबाट तानेर नकछेटोलमा पुर्याइनेछ । आजदेखि शुरू हुने रथयात्राको लागि हिजो दोलखामा मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरिएको छ ।







प्रतिक्रिया