काठमाडौं, २० चैत्र । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गण्डकी प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गर्दै तत्काल समाधान गर्न सकिने कामलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ।
प्रदेशगत रूपमा सांसदहरूसँग छलफललाई निरन्तरता दिने क्रममा शुक्रबार प्रधानमन्त्री बालेनले गण्डकी प्रदेशका सांसदहरूसँग भेटवार्ता गर्नुभएको हो। छलफलमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न समस्या प्रधानमन्त्रीसमक्ष राख्दै समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
नवलपुर–२ बाट निर्वाचित सांसद मनिष खनालले बुटवल–नारायणगढ सडकखण्ड, दाउन्ने सडक, त्रिवेणी–दुम्किवास सडक, तटबन्ध, हुलाकी राजमार्ग, मानव–वन्यजन्तु द्वन्द्व तथा पर्यटन विकासका विषय उठाइएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “आफ्नो क्षेत्रका समस्याबारे प्रधानमन्त्रीज्यूसँग ध्यानाकर्षण गराएका छौं र समाधानका लागि सरकारलाई सहजीकरण गर्न अनुरोध गरेका छौं।”
म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने विकास आयोजनाहरू विभिन्न कारणले रोकिएको भन्दै ती कामलाई फुकाउन आग्रह गर्नुभएको बताउनुभयो।
उहाँले भन्नुभयो, “असार मसान्तसम्म पूरा गर्नुपर्ने काम तत्काल अघि बढ्नुपर्छ, अड्केका योजनामा सहजीकरण आवश्यक छ।”
स्याङ्जाबाट निर्वाचित सांसद झविलाल डुम्रेले भौतिक पूर्वाधार, सिद्धार्थ राजमार्ग, कृषि अनुदान, कृषि एम्बुलेन्स, अस्पतालमा चिकित्सक दरबन्दी, औषधि, उपकरण, प्रविधिमैत्री शिक्षा, नमुना विद्यालय, खानेपानी र सिँचाइका समस्या प्रधानमन्त्रीसमक्ष राखिएको जानकारी दिनुभयो।
छलफलमा सहभागी सांसदहरूका अनुसार प्रधानमन्त्री बालेनले सबै कुरा ध्यानपूर्वक सुन्नुभएको छ भने सचिवालयले सबै विषय टिपोटसमेत गरेको छ।
नवलपुर–१ बाट निर्वाचित सांसद राजन गौतमले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले गर्न सकिने काम तत्काल अघि बढाउने र तत्काल सम्भव नभएका विषय स्पष्ट रूपमा बताउने आश्वासन दिनुभएको छ।”
प्रधानमन्त्रीले सबै सांसदलाई सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर अघि बढ्न र प्रधानमन्त्री कार्यालयसँग नियमित सम्पर्कमा रहन आग्रह गर्नुभएको छ। साथै, समस्या र मागहरू लिखित रूपमा प्रधानमन्त्री कार्यालयमा पेश गर्न पनि आग्रह गरिएको छ।
सांसद मनिष खनालका अनुसार प्रधानमन्त्रीले प्रदेशका सबै सांसदहरू समेटेर समन्वयका लागि ह्वाट्सएप समूहमार्फत पनि संवादलाई नियमित बनाउने प्रस्ताव गर्नुभएको छ।
यसअघि प्रधानमन्त्री बालेनले अन्य प्रदेशका सांसदहरूसँग पनि यस्तै छलफल गरिसक्नुभएको छ।







प्रतिक्रिया