रास्वपाको जितमा ‘अदृश्य शक्ति’ को भूमिका रहेको बादलको आरोप

काठमाडौँ, १९ चैत । नेकपा एमालेका कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी विजयमा विभिन्न दृश्य र अदृश्य शक्तिहरूको निर्णायक भूमिका रहेको आरोप लगाउनुभएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उहाँले फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले प्राप्त गरेको जितलाई “जादुमय विजय” को संज्ञा दिनुभयो।

बादलले भन्नुभयो, “यो अभूतपूर्व विजयमा नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसनजस्ता संस्था तथा पात्रहरूको निर्णायक भूमिका रहेको तथ्यहरूले देखाउँछन्।”

उहाँले जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमलाई पनि रास्वपाको विजयसँग जोड्दै भदौ २३ र २४ गतेको आन्दोलनलाई “रङ्गक्रान्ति” का रूपमा व्याख्या गर्नुभयो।

संसदमा बोल्दै बादलले टीओबी, एआई, एल्गोरिदम, गोयबल्स र मिडिया ट्रायल जस्ता अदृश्य शक्तिहरूले राजनीतिक धारणा निर्माणमा प्रभाव पारेको दाबी गर्नुभयो। उहाँका अनुसार यी माध्यमले “राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रका नायकहरूलाई खलनायकका रूपमा प्रस्तुत गरेको” आरोप लगाउनुभयो।

उहाँले थप प्रश्न उठाउँदै भन्नुभयो, “कुन उद्देश्यका लागि सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, बालुवाटार, प्रहरी चौकी र पार्टी कार्यालय सुनियोजित रूपमा जलाइयो?”

यसै क्रममा उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउप्रति असन्तुष्टि जनाउँदै उक्त गिरफ्तारीलाई गैरकानुनी र प्रतिशोधपूर्ण कदम को संज्ञा दिनुभयो।

बादलको यो अभिव्यक्तिले संसदभित्र राजनीतिक बहस थप तीव्र हुने संकेत देखिएको छ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार  १९ : ०२  बजे