काठमाडौं, १८ चैत्र । नेकपा एमालेले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई दिएको छ। अध्यक्ष केपी शर्मा ओली हिरासतमा रहेकाले उहाँ हिरासतबाट बाहिर नआउँदासम्मका लागि थापालाई कार्यवाहक नेतृत्वको जिम्मेवारी सुम्पिएको हो।
एमाले स्रोतका अनुसार अध्यक्ष ओलीले हिरासतबाटै पत्र पठाउँदै “म हिरासतबाट मुक्त नहुँदासम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी” थापालाई दिनुभएको हो। उक्त पत्रको व्यहोरा उद्धृत गर्दै एमाले नेता ऐन महरले जानकारी दिनुभयो।
यसैबीच, आजै बसेको एमाले संसदीय दलको बैठकले पनि रामबहादुर थापालाई संसदीय दलको नेतामा चयन गरेको छ। दलको नेतामा चयन भएपछि थापाले संसदमा अंकगणितीय रूपमा एमालेको संख्या कम देखिए पनि जनमतका हिसाबले प्रतिपक्ष अझै बलियो रहेको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, “संसदको अंकगणित एक पक्ष हो, तर जनमतको धरातलमा प्रतिपक्षको आवाज अझ सशक्त छ।”
एमालेको गत महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका थापा पार्टीभित्र संगठनात्मक र राजनीतिक दुवै हिसाबले प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ।







प्रतिक्रिया