छवि रिजाललाई थुन्ने कि छाड्ने ? मन्त्रिपरिषद्को निर्णयसँग बाझिएको पक्राउबारे प्रहरीभित्रै छलफल

काठमाडौं, १७ चैत । जेनजी प्रदर्शन प्रकरणमा पक्राउ पर्नुभएका काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल लाई थुनामा राखेर अनुसन्धान गर्ने कि रिहा गर्ने भन्ने विषयमा प्रहरीभित्रै छलफल भइरहेको छ।

मन्त्रिपरिषद् को चैत १३ गते बसेको पहिलो बैठकले जेनजी प्रदर्शनबारे गौरीबहादुर कार्की आयोग ले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

बैठकले आयोगले सिफारिस गरेका व्यक्ति तथा निकायमध्ये सुरक्षा संयन्त्र र कर्मचारीतन्त्रको हकमा छुट्टै अध्ययन समिति गठन गरी सो समितिको सिफारिसका आधारमा मात्र कारबाही अघि बढाउने निर्णय गरेको बताइएको छ।

सोही निर्णयपछि प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेको थियो। ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत हुनुहुन्छ भने लेखक महाराजगञ्जस्थित प्रहरी गणमा राखिनुभएको छ।

तर मंगलबार प्रहरीले मन्त्रिपरिषद्को उक्त निर्णयसँग बाझिने गरी तत्कालीन सीडीओ रिजाललाई बानेश्वर स्थित निवासबाट पक्राउ गरेपछि कानुनी र प्रशासनिक बहस सुरु भएको छ।

प्रहरी उच्च स्रोतका अनुसार सीडीओ सुरक्षा समितिको प्रमुख हुने भएकाले उहाँमाथिको कारबाही अध्ययन समितिको प्रतिवेदनपछि मात्रै हुनुपर्ने विषयमा प्रहरी अधिकारीहरूबीच आन्तरिक छलफल चलिरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं ले हालसम्म म्याद थपका लागि सरकारी वकिलमार्फत अदालतमा पेश नगरेको जनाइएको छ। गृह मन्त्रालय स्रोतका अनुसार म्याद थप नगरी छाड्ने विकल्पमाथि पनि छलफल भइरहेको छ।

काठमाडौं प्रहरीका एसपी पवन भट्टराई ले रिजालमाथिको कानुनी प्रक्रियाबारे आन्तरिक छलफल जारी रहेको बताउनुभएको छ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार  १८ : २४  बजे