मुग्लिङ–नागढुंगा सडक खण्डमा ३ दिन राति सवारी सञ्चालन बन्द हुने

काठमाडौं, १६ चैत । मुग्लिङ–नागढुंगा सडक खण्ड मा आगामी तीन दिन रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।

भोलिदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक खण्डमा सवारी सञ्चालन पूर्ण रूपमा रोकिने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय चितवन का अनुसार सडक स्तरोन्नतिको कार्य जारी रहेकाले चितवनको इच्छाकामना गाउँपालिका–४ अन्तर्गत घोप्टेभिर लगायतका विभिन्न स्थानमा रातिको समयमा सवारी आवागमन बन्द गर्न लागिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा ले निर्माण कार्यका कारण पटक–पटक सवारी अवरोध हुँदा यात्रुहरूलाई असुविधा भइरहेको उल्लेख गर्दै अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइने जानकारी दिनुभएको छ।

उक्त अवधिमा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा योजना मिलाउन प्रशासनले आग्रह गरेको छ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार  २१ : ०७  बजे