संविधान संशोधनको कार्यदल गठन, दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

काठमाडौं, १६ चैत। सरकारले संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार कार्यदलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गरिनेछ। यस समितिको अध्यक्षता प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साह ले गर्नु हुनेछ।

प्रवक्ताका अनुसार, सबै दलहरूको सहभागितामा राष्ट्रिय सहमतिमा बहस पत्र तयार गरिने योजना रहेको छ।

यसैबीच, सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बिहीबार अपरान्ह २ बजे बोलाउन सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।

संविधान संशोधन प्रक्रियालाई राष्ट्रिय सहमतिमा अघि बढाउने यस पहललाई राजनीतिक दलहरू र संसद्मा चासोका साथ हेरिरहेका छन्।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार  २१ : ०३  बजे