काठमाडौं, १६ चैत । नेकपा एमालेका सांसद राजेन्द्र राई ले सोमबार प्रधानमन्त्री बालेन्द्र शाह सँग आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली को तत्काल रिहाइको माग गर्नुभएको छ।
प्रधानमन्त्री शाहले सोमबार कोशी प्रदेशका सांसदहरूसँग प्रदेशगत छलफल गर्दै आ–आफ्ना क्षेत्रगत समस्या र विकास परियोजनाबारे जानकारी लिनुभएको थियो। सो क्रममा धनकुटाबाट निर्वाचित सांसद राईले अध्यक्ष ओलीको रिहाइको माग राख्नुभएको हो।
एक सांसदका अनुसार, राईले प्रधानमन्त्रीसँग भन्नुभएको थियो, “हाम्रो अध्यक्षलाई प्रतिशोधका कारण पक्राउ गर्नुभयो, उहाँलाई तत्काल रिहा गर्नुपर्छ।”
त्यसैगरी, राईले सांसदहरूले आफ्नै स्वकीय सचिव राख्न नपाउने विषयमा पनि आपत्ति जनाउनुभएको छ। उहाँले भन्नुभएको छ, “राम्रो काम गर्नका लागि समेत हामीलाई स्वकीय सचिव राख्न नदिइने व्यवस्था छ, यो उचित होइन।”
छलफलमा सहभागी एक सांसदले शिलापत्रलाई जानकारी दिनुभयो, “राजेन्द्र राईले आफ्ना कुरा एकोहोरो राखिरहनुभयो। तर प्रधानमन्त्री बालेन्द्र शाहले कुनै जवाफ दिनुभएन र यस विषयमा प्रतिक्रिया दिन चाहनुभएन।”
यो घटनाले एमाले–सरकार सम्बन्धमा राजनीतिक संवेदनशीलतालाई अझ स्पष्ट बनाएको छ, विशेषगरी पार्टी अध्यक्षसँग सम्बन्धित मुद्दामा सांसदहरूले प्रत्यक्ष माग राख्नुलाई राष्ट्रिय राजनीतिक वृत्तले ध्यानपूर्वक हेरिरहेको छ।







प्रतिक्रिया