प्रधानमन्त्रीको सांसदसँग प्रदेशवाइज छलफल सुरु, हर्क साम्पाङले बहिष्कार गर्ने घोषणा

काठमाडौं, १६ चैत । प्रधानमन्त्री बालेन्द्र शाह ले मन्त्रीहरूसँगको प्रारम्भिक छलफलपछि सोमबारदेखि सांसदहरूसँग प्रदेशगत रूपमा छलफल सुरु गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कर्णाली प्रदेशका सांसदहरूसँग छलफल जारी रहेको छ।

प्रधानमन्त्री कार्यालयले प्रदेशअनुसार सांसदहरूसँग प्रत्यक्ष संवाद गर्दै समसामयिक राजनीतिक तथा जनसरोकारका विषयमा धारणा लिने उद्देश्यले छलफल अघि बढाएको जनाएको छ।

यसैबीच, श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीले बोलाउनुभएको बैठकमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ।

प्रतिनिधिसभा बैठक तत्काल बोलाउन माग गर्दै उहाँले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भन्नुभएको छ, “प्रधानमन्त्रीले सदन बोलाउन पहल नगरी कोठे बैठकमा किन बोलाउनुभयो, कारण थाहा भएन। हामी आउँदैनौँ।”

उहाँले थप्दै संसद् नियमित सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको छ। “सदन बैठक कम्तीमा हप्ताको एक पटक राख्नुपर्छ। जनताका प्रश्नबाट भाग्न पाइँदैन, सबै प्रश्नको उत्तर दिनैपर्छ,” उहाँले उल्लेख गर्नुभएको छ।

आज प्रधानमन्त्रीले अन्य प्रदेशका सांसदहरूसँग पनि चरणबद्ध रूपमा छलफल गर्ने कार्यक्रम रहेको छ। सोहीअनुसार श्रम, संस्कृति पार्टीलाई समेत औपचारिक निम्तो पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीको प्रदेशवाइज संवाद अभियानलाई सत्ता र प्रतिपक्षबीचको सम्बन्ध सुधार तथा संसद् गतिरोध अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ। तर हर्क साम्पाङको असहमतिको सार्वजनिक अभिव्यक्तिले यस पहलमाथि नयाँ राजनीतिक बहस सुरु भएको छ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार  १४ : १३  बजे