तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु

काठमाडौं, १५ चैत । सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरेको जनाएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार केपी शर्मा ओली, पुष्पकमल दाहालशेरबहादुर देउवा विरुद्ध अनुसन्धान अघि बढाइएको हो।

एमाले अध्यक्षसमेत रहनुभएका ओली शनिबार मात्रै पक्राउ पर्नुभएको थियो र हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहनुभएको छ। उहाँलाई भिडियो भर्चुअलमार्फत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको जनाइएको छ।

यसैबीच, सम्पत्ति शुद्धीकरणकै मुद्दामा पूर्वमन्त्री दीपक खड्का लाई पनि आज बिहान पक्राउ गरिएको छ। उहाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद लिने तयारी भइरहेको छ।

त्यस्तै, देउवापत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवा माथि पनि सोही मुद्दामा अनुसन्धान सुरु गरिएको बताइएको छ। देउवा दम्पती भने हाल देशबाहिर रहनुभएको स्रोतले जनाएको छ।

अनुसन्धानको क्रममा प्रमाण नष्ट हुन सक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको भवन भत्काउने कार्यसमेत रोक लगाइएको छ। सरकारले यस विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार  १३ : ३८  बजे