कांग्रेसको १५ औँ महाधिवेशन भदौमा

काठमाडौं, १० चैत्र ।  नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ ।पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्रस्तावअनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौँमा महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रस्तावित कार्यतालिकाअनुसार देशैभरका ६ हजार ७४३ वटै वडामा साउन ६ गते एकैसाथ अधिवेशन हुने पार्टीका सभापति गगनकुमार थापाले जानकारी दिनुभयो । त्यसैगरी, साउन १२ गते गाउँ र नगरपालिकाको अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ ।साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ । जिल्ला अधिवेशन भदौ ६ र ७ गतेका लागि तय गरिएको छ भने प्रदेश अधिवेशन भदौ १५ र १६ गते हुनेछ ।यो कार्यतालिका पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने सभापति थापाले बताउनुभयो ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार  २० : ०७  बजे