काठमाडौं, चैत्र १० । पदमुक्त हुने अन्तिम तयारीमा रहनुभएकी प्रधानमन्त्री सुशीला कार्की बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारीमा जुट्नुभएको छ। नयाँ प्रधानमन्त्री बालेन्द्र शाह ले शुक्रबार पदभार ग्रहण गर्ने कार्यक्रम तय भएसँगै कार्की निजी निवासतर्फ सर्ने तयारीमा रहनुभएको हो।
कार्यालय स्रोतका अनुसार कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित रूपमा उपस्थित हुन छाड्नुभएको छ। उहाँले अनौपचारिक रूपमा बिदा लिँदै अब कार्यालय नआउने संकेत दिनुभएको बताइएको छ।
कर्मचारीहरूले औपचारिक बिदाइ कार्यक्रमको प्रस्ताव गरे पनि कार्कीले साधारण रूपमा पदबाट बाहिरिन चाहेको भन्दै अस्वीकार गर्नुभएको जनाइएको छ। त्यसयता उहाँ सिंहदरबारस्थित कार्यालयमा उपस्थित हुनुभएको छैन भने सचिवालयमार्फत व्यक्तिगत सामग्रीसमेत हटाइसकिएको छ।
यता, बालुवाटारस्थित सरकारी निवासबाट परिवारका अधिकांश सामान टोखास्थित निजी घरमा सारिसकिएको छ। नयाँ निवासमा सुरक्षाकर्मी बस्ने व्यवस्था मिलाउने काम समेत केही दिनदेखि भइरहेको स्रोतले जनाएको छ।
पूर्वप्रधानन्यायाधीशसमेत रहनुभएकी कार्की अब पूर्वप्रधानमन्त्रीको हैसियतमा रहने भएकाले उहाँको सुरक्षामा थप कडाइ गरिने तयारी छ। नयाँ प्रधानमन्त्रीको शपथपछि उहाँ सिधै टोखास्थित निजी निवासतर्फ सर्ने कार्यक्रम रहेको बताइएको छ।







प्रतिक्रिया