काठमाडौं, ३ चैत्र । प्रतिनिधि सभाको निर्वाचनमा सफलता हासिल गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले औपचारिक पत्रमार्फत बधाई तथा शुभकामना व्यक्त गरेको छ।
रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालका अनुसार सीपीसीको अन्तर्राष्ट्रिय विभागले पठाएको पत्रमा रास्वपासँगको सम्बन्ध विस्तारप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
उक्त पत्रमा नेपाल र चीनबीचको आपसी राजनीतिक विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश तथा जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता समेत उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो।
सीपीसीले रास्वपाका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गर्दै उहाँहरूको नेतृत्वमा नेपाल–चीन परम्परागत मैत्री सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको जनाएको छ।
यसैगरी, सीपीसीले अनुभव आदानप्रदान, आपसी सिकाइ तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई स्थिर र सुदृढ बनाउनेतर्फ सँगै अघि बढ्न तत्परता व्यक्त गरेको छ।
उक्त सन्देशप्रति आभार व्यक्त गर्दै प्रमुख खनालले राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो। साथै, उहाँले सीपीसीले व्यक्त गरेको शुभेच्छा र ऐक्यबद्धताका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।







प्रतिक्रिया