काठमाडौं, ३ चैत ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले आफ्नै पार्टीको सरकार बने पनि गलत कदम भए प्रश्न उठाउनुपर्ने बताउनुभएको छ।
पार्टीका नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सरकारलाई निरन्तर निगरानी र खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो। “हामी कानुन बनाउन आएका हौँ। सरकारको कामको समीक्षा, अनुगमन र निगरानी गर्नुपर्छ। हाम्रो सरकार हुँदा पनि औँलो ठड्याउनुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। नीति निर्माण, विकास निर्माण, सामाजिक तथा आर्थिक विषयमा केन्द्रित भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो।
वाग्लेले पार्टीको घोषणापत्रअनुसार ‘थिति बसाल्ने’ संकल्पसहित अघि बढ्नुपर्ने बताउँदै जनताबाट प्राप्त अभूतपूर्व समर्थनलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने उल्लेख गर्नुभयो।
“रास्वपाले काम गरेर देखाउनुपर्छ, जनअपेक्षाअनुसार अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।







प्रतिक्रिया