काठमाडौं, चैत २ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलबीच भेटवार्ता भएको छ।
सोमबार सैनिक मुख्यालय जङ्गीअड्डामा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। सैनिक स्रोतका अनुसार भेटवार्तामा नेपाली सेना र अमेरिकी सेनाबीचको सहकार्य, सैन्य सहायता, संयुक्त अभ्यास तथा तालिमका विषयमा कुराकानी भएको थियो। साथै बदलिँदो क्षेत्रीय राजनीतिक तथा भू–राजनीतिक अवस्थाबारे पनि अमेरिकी पक्षले चासो व्यक्त गरेको जनाइएको छ।
छलफलका क्रममा अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराउँदै आएको सैन्य सहयोग तथा तालिम कार्यक्रमको निरन्तरताबारे पनि विचार आदान–प्रदान भएको बताइएको छ। लेफ्टिनेन्ट जनरल भोवेल आइतबार बिहान डुक यर को जहाजमार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुग्नुभएको हो। नेपाली सेनाले उहाँको नेपाल भ्रमणलाई नियमित भ्रमणका रूपमा व्याख्या गरेको छ।
नेपाल आउनुअघि उहाँले नयाँ दिल्लीमा भारतीय सेनाका प्रमुख उपेन्द्र द्विवेदीसँग भेटवार्ता गर्नुभएको थियो भने त्यसपछि भुटानको भ्रमण गर्नुभएको थियो। भोवेल प्रतिनिधि सभाको निर्वाचनपछि नेपाल आउने उच्च पदस्थ अमेरिकी सैन्य अधिकारीमध्ये एक हुनुहुन्छ। यसअघि पनि सामुयल जे. पापारो नेतृत्वको अमेरिकी इन्डो–प्यासिफिक कमाण्ड टोलीले नेपाल भ्रमण गरेको थियो। भोवेल नेतृत्वको टोली मंगलबार थाइल्याण्ड तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ।







प्रतिक्रिया